एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्ने छन् ।
अबुधाबीमा कोलकाता र हैदराबाद नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा कोलकाता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकाता चौंथो स्थानमा रहेको छ ।
इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दूरी घटाउन चाहन्छ । तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ ।हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ । हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।
आजै हुने दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाव र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । बेलुकी पौने ८ बजे हुने खेलमा मुम्बई जित हात पार्दै शीर्ष स्थानमा पुग्न चाहन्छ भने पञ्जाव जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । पञ्जाब अन्तिमा छ भने मुम्बई दोस्रो स्थानमा छ ।