एजेन्सी । यूएईमा म्याद सकिएर बसेकाहरुले जरिवाना तिर्न पर्ने भएको छ । यूएई सरकारले जुलाई १० मा घोषणा गरेको तीन महिनाको समयावधि अक्टोबर ११ अर्थात् आइतवार समाप्त भएपछि जरिवाना लिन थालेको हो ।
यूएईका इमिग्रेसन अधिकारीहरूका अनुसार एमिरेट्स आईडी कार्डहरूमा उल्लेखित समयावधी समाप्त भएकाहरूले देश छोड्नु अघि वा भिसा नवीकरण गर्नुअघि जरिवाना तिर्नु पर्नेछ ।
निवास भिसाका लागि पहिलो दिनको लागि १२५ दिराम र त्यसपछि दोश्रो दिनदेखि दैनिक २५ दिरामको दरले जरिवाना तिर्नु पर्ने जनाएको छ ।
यदि एक व्यक्ति ६ महिनाभन्दा बढी बस्यो भने दैनिक ५० दिरामसम्म तिर्नु पर्ने र एक बर्षपछि यो म्याद सकिए यूएईमा बिताएको प्रत्येक दिनवापत १०० दिरामसम्म जरिवाना तिर्नु पर्ने गल्फ न्यूजले जनाएको छ ।