एजेन्सी । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले खारेज गरिदिएको छ ।
चिनियाँ भिडियो सेयरिङ एप टिकटक डाउनलोड गर्न नपाउने ट्रम्पको उक्त आदेशलाई वाशिंग्टनका एक डिस्ट्रिक्ट न्यायाधीशले रोक लगाएका हुन् ।
न्यायाधीशले यस्तो आदेशको कारण बताएका छैनन् तर यसबारे विस्तृत फैसला पछि गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले गत अगस्टमा राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।
चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा बनाएको टिकटकका विश्वभर ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । अमेरिकामा भने यसका करिब ८ करोड प्रयोगकर्ता छन् ।