एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन् । सामाजिक रुढीवादीहरुकी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न मनोनित गरेका हुन् ।
ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अपूर्व उपलब्धी हाँसिल गर्ने महिलाका रुपमा परिभाषित गरे।
माथिल्लो सदन सिनेटमा हुने सुनुवाईले उनको नाम पारित गरेमा एमीले सर्वोच्च अदालतमा दिवंगत न्यायाधीश गिन्सबर्गको स्थान लिने छिन् । गिन्सबर्गको ८७ वर्षको उमेरमा गएको हप्ताको शुक्रबार निधन भएको थियो।
ट्रम्पले आइतबार एमीको नाम प्रस्ताव गर्दै उनी संविधानप्रति अटूट निष्ठा राख्ने व्यक्ति रहेको बताए। डेमोक्र्याटहरुले चुनावको मुखैमा खाली भएको न्यायाधीशको नियुक्ति चुनावपछि मात्रै हुनु पर्ने बताउँदै आएका छन् ।