काठमाडौँ : साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्तीर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । सम्मानित १५ जनामध्ये २ जना ए प्लस, ७ जना ए, ४ जना बिप्लस, २ जनाले बि ल्याएका थिए ।
सम्मान कार्यक्रमसँगै सिद्धार्थ बैङ्क लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्ज्वल खड्का क्षेत्रीले विद्यार्थीहरूसँग ‘एसईई पछि के’ भन्ने उद्देश्यले आयोजित करियर काउन्सिलिङ कार्यक्रममा विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेका थिए । एसईई पछिको शैक्षिक भविष्यबारे गम्भीर हुनको लागि विद्यार्थीहरूलाई प्रेरणा दिइएको थियो । उनले विद्यार्थीहरूलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताए । कार्यक्रममा, वडा नं ४ का जनप्रतिनिधि, युवा समाजसेवी लगायतको उपस्थिति थियो ।