२१ असार, चितवन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए ।
बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्रीसँग आफ्नो कुरा नभएको तर प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको बताए ।‘हाम्रो प्रधानमन्त्री नेपालको संसदले निर्वाचित गरेको प्रधानमन्त्री हो र यही जननिर्वाचित सरकार र जनताको शासन प्रणालीको निम्ति सबभन्दा बढी संघर्ष गर्ने नेतामध्ये उहाँ पर्नुहुन्छ भन्ने सबैलाई थाहा छ । त्यो अर्थमा प्रधानमन्त्रीले भन्नु भएको हो भन्ने कुरा मिल्दैन,’ उनले भने ।
नेपालको सरकार बनाउनको निम्ति विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुनै नसक्ने बताउँदै श्रेष्ठले भने, ‘बाहिर आएको समाचारमै पनि प्रधानमन्त्रीले मैले भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नु भएको छैन ।’कुनै व्यक्तिले शुभेच्छाका कारणले सहयोग गर्छ भने त्यो अलग कुरा हुने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘जहाँजहाँ दौडेर हुन्छ म सहयोग गर्छु भन्या छ भने त्यो उहाँको कुरा हो । तर नेपालको प्रधानमन्त्री अन्त कहीँबाट बन्दैन, यहीँबाट बन्छ ।’
यही असार १८ गते सरदार पि्रतम सिंहको जीवनी विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पि्रतम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट राजीनामा माग गरेका छन् ।एक अर्को प्रसंगमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकारले जनपक्षीय काम गर्दै आएको भन्दै यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।’
भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गरेको बताउँदै गृहमन्त्री श्रेष्ठ मिटरब्याज पीडितलाई न्याय पुग्ने गरी सरकारले काम गर्ने बताए ।सरकारको विपद् व्यवस्थापन तयारी सम्वन्धी प्रश्नमा गृहमन्त्री श्रेष्ठले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताए ।