पोखरा । नेकपा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका छन् । सोमबार दिउँसो पौने ३ बजे ३३ सांसदको समर्थन लिएर दाबी पेस गरेसँगै प्रदेश प्रमुख गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गण्डकी प्रदेशसभामा एमालेका २२, माओवादीका ८ र केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको २ सहित एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेको गरी जम्मा ३३ सांसदको समर्थन लिएर उनले दाबी पेस गरेका थिए ।मुख्यगरी माओवादी केन्द्रले समीकरण बदल्दा अधिकारीले गण्डकीको तेस्रो मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । एमालेको समर्थन पाएर संघीय सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि गण्डकी प्रदेशमा समीकरण स्वतः बदलिएको हो । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी संघीय सरकारमा स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ३१ सदस्य आवश्यक पर्छ ।
अधिकारी यस पटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् । ०५१ र ७४ सालमा प्रतिनिधिसभा संसदमा निर्वाचित भइसकेका अधिकारी २०५१ सालमा कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटलाई पराजित गरेका थिए । ०५१ सालबाट संसद यात्रा सुरु गरेका अधिकारीलाई तत्कालीन एमाले संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतकका नियुक्त गरेका थिए ।अधिकारी ०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए । पहिलो संविधानसभाको निर्वाचन ०६४ सालमा पराजित भएपछि उनले ०७० मा टिकट नै पाएनन् । ०७४ मा कास्कीबाट चुनाव जिते लगत्तै उनी एमालेको प्रमुख सचेतक बने । वाम गठबन्धन हुँदा अधिकारी हटेर माओवादीका देव गुरुङ प्रमुख सचेतक बने । नेकपा हुँदा उनी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारीमा थिए ।एमालेमा अधिकारी संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन् । एमाले अध्यक्ष ओलीसँग पञ्चायतका बेला सँगै जेल बसेका अधिकारी २०२९ सालदेखि राजनीतिमा होमिएका हुन् । उनी त्यति बेला स्थानीय आनन्द ज्योति माविको स्ववियु सभापति थिए । ०२९ सालबाटै अधिकारी सक्रिय राजनीतिमा होमिए ।विद्यार्थी राजनीतिबाट २०३७ सालमा केन्द्रीय स्ववियु सदस्य भएका उनी २०४०÷४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बने । अधिकारी अनेरास्ववियुको केन्द्रीय समिटीको उपाध्यक्ष, एमाले कास्कीको सचिव हुँदै जिल्ला कमिटीको अध्यक्ष भए । अधिकारी केन्द्रीय अनुशासन विभाग, वैकल्पिक पोलिटब्युरो सदस्य हुँदै गण्डकी संयोजक भएर काम गरिसकेका छन् ।