काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले सही सूचना एवं सन्देश प्रवाह गरेपछि मात्र जनतामा जागरण आउने धारणा व्यक्त गर्नुभएको छ ।
“अन्य रोगजस्तो यसको खोप, औषधिको विकास भइसकेको छै, यस्तो अवस्थामा व्यक्ति स्वयं सचेत रहेर आफू र समाजलाई सुरक्षित राख्नु नै विकल्प हो,” उहाँले भन्नुभयो, “जनप्रतिनिधि जनतामाझ जाँदा यसबाट सुरक्षित रहन भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, मास्क लगाउने र स्यानिटाइजरको प्रयोग गर्नेबारे जनतालाई सूचना प्रवाह गर्नुपर्दछ ।”
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी र सञ्चार जगतको प्रयासबाट मात्र कोभिड १९ नियन्त्रण सम्भव नहुने हुँदा जनप्रतिनिधिसमेत यस अभियानमा जोडिनुपर्ने उहाँको भनाइ थियो ।
कर्णाली प्रदेशसभा सचिवालयद्वारा आज सुर्खेतमा आयोजित ‘कोभिड–१९ जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सेनाले कोभिड–१९ बाट सुरक्षित रहेर जीवनपद्धति चलाउनुको विकल्प नभएको बताउनुभयो ।
उहाँले आफू सुरक्षित रहेमात्र अरुलाई रोकथाम गर्न सकिने बताउनुभयो । प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोभिड १९ ले बहुआयामिक दुष्प्रभाव छाडे पनि यसका शिक्षालाई ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्दै गलत सूचना प्रवाहले महामारी झन् फैलिन सक्ने हुँदा जनप्रतिनिधिले विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कोभिड १९ विरुद्धको प्रतिकार्यमा कर्णालीले अन्य प्रदेशभन्दा अब्बल कार्य गरेको दाबी गर्नुभयो । उहाँले स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन, परीक्षण र उपचार प्रणालीमा उल्लेख्य सुधार गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका जोखिम तथा संकट सञ्चार विज्ञ डा सुनुर बर्माले कोभिड १९ का सन्दर्भमा जोखिम सञ्चार तथा समुदायको संलग्नताका महत्व तथा निर्वाचित पदाधिकारीको भूमिकासम्बन्धी अन्तर्राष्ट्रिय अनुभव र स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले सो प्रदेशको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।