काठमाडौं । समुदायस्तरमा नै कोरोना भाइरस संक्रमण फैलिएपछि बेनी नगरपालिकामा आजदेखि ‘कम्युनिटी टेष्ट स्क्रिनिङ’ सञ्चालन गरिएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै कात्तिक २८ सम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको नगरपालिकाले संक्रमणको उच्च जोखिममा रहेका वडा नम्बर ७ र ८ का प्रत्येक घरमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोली पुग्ने नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । सबैभन्दा जोखिम बजार क्षेत्र भएकाले बजारको अवस्था हेरेर थप योजनासहित ग्रामीण क्षेत्रमा प्रवेश गरिने उहाँले बताउनुभयो ।
ट्राभल हिस्ट्रीसमेत नभएकामा धमाधम कोरोना पुष्टि हुन थालेपछि संक्रमतिको सम्पर्कमा नआएकाहरुसम्म स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिकाले जनाएको छ । पिसिआर परीक्षणको दायरा बढाउन समेत नगरपालिकाले आवश्यक तयारी गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले कोरोनाको लक्षणसँग मिल्ने समस्या भएमा टोलीसँग सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।