काठमाडौं । सरकारले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न आग्रह गरेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताउनुभएको छ ।
यसरी जथाभावी रुपमा औषधि खाँदा स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधि सेवन गर्न गौतमको आग्रह छ ।
उहाँले होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउने र सिर्जनात्मक कार्य गर्नपनि सुझाव दिनुभयो ।