काठमाडौं । समुदास्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो ।
महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताउनुभयो । उहाँले परीक्षणका लागि चाहिने रिएजेन्ट आउने ढिलाइ भएकाले परीक्षण अर्को हप्ता मात्र गरिने बताउनुभएको छ । परीक्षण गरेको एक हप्तामा नै नतिजा आउने उहाँको भनाइ छ ।
सरकारले कोभिड—१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्थाबारे एन्टिवडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गर्न थालेको हो ।
महाशाखाले एन्टिवडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वटामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरिएको बतानुभयो । उहाँकाअनुसार एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ ।
प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सकलन गरिएको छ । नमूना सङ्कलन गरिएकामा बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका रहेका छन् ।