काठमाडौं । बागलुङ नगरपालिकाका चार वडा एक साताका लागि बन्द गरिएको छ । कोरोना न्युनकिरणका लागि बागलुङ नगरपालिका १,२, ३ र ४ नम्बरका वडा एक साता बन्द गर्ने सर्वपक्षीय बैठकले गरेको थियो । सदरमुकामका चारवटै वडामा अत्यावश्यकबाहेकका सेवा, बजार र यातायात बन्द हुनेछ । यस्तै बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् ।
तर खाद्यान्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने बन्द गरिएको छैन । यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा चल्ने सवारीसाधन भने नियमित सञ्चालन हुने छन् । ती सवारीसाधनले बजार क्षेत्रमा प्रवेश गरी यात्रु चढाउन र ओराल्न भने पाउने छैनन् ।
यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घलेसमेत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो ।