काठमाडौँ । नेपाल चिकित्सक संघले गर्ने भनेको सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । डा. गोविन्द केसीको माग पूरा गर्नबाट पछाडि हटेको भन्दै संघले हिजो थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर हिजै राति डा। केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको महासचिव डा. बद्री रिजालले जानकारी दिनुभएको छ ।
रिजालले आज बिहान एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जानकारी गराउनुभएको हो ।
यस्तै सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यराती ८ बुदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गर्नुभएको छ ।
डा. केसी २८ दिनदेखी आमरण अनसनमा बस्नुभएको थियो । उहाँले अहिले केहिबेरपछि अनसन तोड्ने तयारी छ । सहमतिमा उल्लेख भएको बुदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति समेत भएको छ ।