काठमाडौं । करिब २५ दिनदेखि सत्याग्रहमा बसेका सत्याग्रही डा. गोविन्द केसीतर्फका प्रतिनिधि र सरकारबीचको वार्ता दोस्रो पटक बिना निष्कर्ष टुंगिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गएराति बसेको वार्ता बिना निष्कर्ष टुंगिएको हो । सरकारले सत्याग्रहको २४ औं दिनमा वार्ता समिति बनाएको थियो । तर समिति बनाएको दोस्रो दिन बिहीबार पहिलो र हिजो दोस्रो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
डा. केसीका पक्षका समितिका संयोजक डा. जीवन क्षत्रीले बिहीबार बसेको वार्ता निकै सकारात्मक रहेको बताउनुभएको थियो । तर गएराति भएको वार्तामा सरकार पछि हटेको देखिएको उहाँले बताउनुभयो । अन्तिमरुप दिइ नसकेको हुँदा अहिले भन्न सहमति भएको भन्ने नमिल्ने सरकारी वार्ता टोलीका सदस्यले बताएको उहाँले जानकारी दिनुभयो ।
आजबाट देशैभर डा. केसीको जीवन रक्षाका लागि थप आन्दोलन गर्ने उहाँले बताउनुभयो । शिक्षा मन्त्रीको गैरजिम्मेबारीपनले डा. केसीको ज्यान जोखिममा परेकोसमेत उहाँले बताउनुभयो । उहाँले सरकारको अमानवीय रवैयाविरुद्ध तथा डा. केसीको जीवरक्षाको लागि थप सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउने चेतावनी दिनुभयो ।