गाईघाट । जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा लिन नपाएको गुनासो गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको रु १ करोडको सहयोगमा तीन महिनाअघि मात्र अस्पतालमा भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष निर्माण गरिएको थियो । अस्पतालले विशेषज्ञ चिकित्सकसहित प्राविधिकको अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा सघन उपचार कक्ष प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।
जिल्ला अस्पताल उदयपु्रका प्रमुख डा. जीवनारायण मण्डलका अनुसार अस्पतालमा सघन उपचार कक्ष सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रु एक करोडबाट दुई वटा भेन्टिलेटर मेसिन जडान गरिएको छ । तर विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुन नसक्दा अहिलेसम्म सघन उपचार कक्ष सञ्चालनमा आउन सकेको छैन् । सघन उपचार कक्ष सञ्चालनका लागि एक विषय विशेषज्ञ र अन्य तालीम प्राप्त प्राविधिक नर्सहरुको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अस्थामा रहेको अस्पताल प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताउनुभयो ।
उहाँले विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध गरिएपनि हालसम्म व्यवस्थापन हुन नसकेको बताउँदै विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको सघन उपचार कक्ष ठप्प छ ।