लमजुङ । बेंसीसहर नगरपालिका १ उदीपुरको बजार क्षेत्र नजिकै मिनिबस दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज राति करिब ८ बजेतिर भएको दुर्घटनामा ४ जना घाइते भएका छन् ।
बेंसीसहरबाट सुन्दरबजारको खत्रीठाँटी जाँदै गरेको को मिनिबस सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । डीएसपी गंगाबहादुर थापाका अनुसार दुर्घटनामा बेंसीसहर नगरपालिका १ धिमिरेका अन्दाजी २६ वर्षीय अर्जुन परिवारको मृत्यु भएको छ । उद्धार गरी लमजुङ जिल्ला सामुदायिक अस्पताल पठाइएका उनलाई उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार बसमा सवार अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये बसचालक बेंसीसहर नगरपालिका ४ पुरानकोटका २८ वर्षीय मनोज गुरुङ र राइनास नगरपालिका ८ का १९ वर्षीय सुदीप नेपालीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकी चितवन रिफर गरिएको छ ।
बसका सहचालक बेंसीसहर नगरपालिका ४ पुरानोकोटका १८ वर्षीय दिपेन्द्र गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते बेंसीसहर नगरपालिका १ उदीपुरका प्रकाश बुढाथोकी सामान्य घाइते भएको अवस्थामा देखिएकोमा सम्पर्कविहीन भएको डीएसपी थापाले बताउनुभयो । सम्पर्कबीहिन व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो । बसमा ५ जनामात्रै सवार रहेको बुझिएको छ ।