काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको विषय टुङ्गो लगाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।
मन्त्रिमण्डल पुनर्गठनका विषयमा बिहीबारदेखि दैनिकजसो छलफलमा रहेका दुई अध्यक्षबीचको आज हुने भनिएको छलफल अचानक स्थगित भएको हो ।
अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले सहमतिमै आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । दुवै अध्यक्ष मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगका पदाधिकारी नियुक्तिलगायतका विषयमा निरन्तर छलफलमा रहेको बताउँदै सापकोटाले आज हुने भनिएको छलफल सहमतिमै स्थगित भएको बताउनुभयो ।
उहाँले आवश्यकता अनुसार दुई अध्यक्षबीच पुनः छलफल हुने जानकारी दिनुभएको छ । यता बालुवाटार स्रोतले भने अध्यक्ष प्रचण्डले बैठक स्थगित गरेको जानकारी दिएको छ । मन्त्रिपरिषद पुनर्गठनका लागि दुई अध्यक्ष तयार भए पनि पुनर्गठनको मोडलका विषयमा सहमति जुटन सकिरहेको छैन ।