काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल शुल्क समायोजन गर्न निर्देशन दिइएको जानकारी गरानुभयो ।
उहाँले २४ घण्टाभित्र ती प्रयोगशालाहरूले शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने जनाउनु भयो । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइसकिएको पनि उहाँले बताउनु भयो ।
मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको हो । बढी शुल्क लिनेमा ह्याम्स हस्पताल, डिकोड ल्याब, इन्टिपेड ल्याब, नेपाल मेडिसिटी, सिडिएल, स्टार अस्पताल, बिएन्डबी र सूर्य हेल्थ केयर रहेका छन् ।
सरकारले सबै प्रयोगशालालाई अधिकतम दुई हजार रुपैयाँ लिएर कोरोना भाइरसको पिसिआर परीक्षण गर्न भनेको छ । तर पछिल्लो समय केही प्रयोगशालाहरूले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर परीक्षण गर्दै आएका छन् ।