काठमाडौँ । गण्डकीमा नेकपा एमाले माओवादी गठबन्धनको सरकार बनाउन सहयोगको आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका सांसद भेटेका छन्। राप्रपाका संसदीय दलका नेता पञ्चराम तमुलाई शुक्रबार पोखरामा भेटर सरकार गठनमा सहयोग गर्न ओलीले आग्रह गरेका हुन्।
पोखराको एक होटलमा शुक्रबार विहान ओली र तमुबीच केही ‘वानटुवान’ वार्ता भयो। त्यसपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीसँगै ओलीको पञ्चरामसँग छलफल गरेका हुन्। छलफलमा ओलीलाई तमुलाई मिलेर अगाडि बढ्न अनुरोध गरेका थिए। ‘राष्ट्रवादी सोचहरु एक भएर जानुपर्छ भनेर उहाँले आग्रह गर्नुभयो’, तमुले भने। चैत २७ गते अगावै सरकारमा जानेबारे निर्णय नलिने तमुले दोहोर्याए।
६० सदस्यीय गण्डकी प्रदेश सभामा १ सांसद भएको राप्रपा सरकार गठनमा निर्णायक बनेको छ। चैत २१ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको म्याद दिएर सरकार गठनको लागि आह्वान गरेका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न पाउनेछन्। राप्रपाबिना कुनै दलले बहुमत जुटाएर मुख्यमन्त्री दाबी पेश गर्न सक्ने अवस्था छैन। त्यसैले राप्रपा कांग्रेस र सत्ता गठबन्धनको तानातानमा छ।
राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई साथ दिन नसकिने निर्णय गरेपछि गण्डकीमा तंरग पैदा भएको छ। चैत ४ मा पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत सरकार गठनमा सहयोग आग्रह गर्दै राप्रपा सांसद तमुलाई भेटेका थिए।