काठमाडौं । आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता : कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने नाराका साथ आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो ।
१८ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो । नेपालमा गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि १३ लाख भन्दा बढि महिलाले सेवा लिएको तथ्याङ्क छ ।
सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन् अधिकार भएको बताएको छ । तर अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित सेवा लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।
४२ प्रतिशत महिलाले मात्र सुरक्षित सेवा उपयोग गरिरहेको र सुरक्षित गर्भपतन प्रजनन अधिकार हो भन्ने जानकारी सबैलाई हुनुपर्ने परिवार कल्याण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर निशा जोशीले बताउनुभयो । नेपालमा १५ सय भन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सम्बन्धि सेवा उपलब्ध छ ।