रामेछाप । जबरजस्ती करणीको अभियोग लागेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले हिजो उक्त आदेश दिएको हो । गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले आफूमाथि जबरजस्ती करणी गरेको खड्काविरुद्ध जाहेरी दर्ता गराएकी थिइन् ।
खड्काकाविरुद्ध परेका ३ वटामध्ये अन्य दुई मुद्दामा भने धरौटी माग भएको छ । खड्काविरुद्ध धोवी बजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई शरीर बन्धक बनाएको मुद्दामा २ लाख र स्थानीय शेरबहादुर खड्काको जग्गा लेनदेनमा ठगी गरेको अभियोगमा ५० लाख धरौटी माग गर्ने फैसलासमेत अदालतले सुनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार अदालतले खड्कासँगै शरीर बन्धक मुद्दामा विपक्षी बनाइएका लालबहादुर तामाङलाई १ लाख धरौटी मागेको छ ।