काठमाडौं । केही दिनदेखि परेको लगातारको झरी आजदेखि कम भई मौसम खुल्दै जाने मौसम विभागले जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको हो ।
देशका धेरैजसो स्थानमा भने हिँजो देखि नै मौसम खुल्दै गएको छ । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा पछिल्ला दिनहरुमा मनसुनलाई सक्रिय गराएको थियो ।
आजदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही समय कुर्नुपर्ने मौसमविदको भनाइ छ । नेपालमा भोलीदेखि पश्चिमी वायु केही बढी सक्रिय हुने र त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधिको विश्लेषणपश्चात मात्रै मनसुन बाहिरिने अवस्थाको अनुमान गर्न सकिने छ ।
कस्तो रहला आज दिनभरको मौसम ?
अहिले कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को मौसममा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, २, बागमती, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टा प्रदेश १, २ र गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।