logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’

‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’


  • सोमबार, फाल्गुन १२ २०८१

  • काठमाडौँ । नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको सांसदहरूले बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरूले पानी जहाज नेपालका लागि अत्यावश्यक भइसकेको बताएका हुन् ।

    उनीहरूले नेपालमा केही समयअघि पानी जहाज चलाउने भन्दा ठट्टा गर्ने गरे पनि अहिले नेपालमा पनि सानासाना पानी जहाज चलाउन मिल्ने कुरा बुझ्दै गएको बताए । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाउने गरे पनि अहिले आएर बुझ्दै गएको बताए ।

    उनले भने, ‘अस्ति अस्तितिर नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाए । ठाउँठाउँ सानासाना जहाजहरू बनाएर उडाएका थिए । त्यसमा हामी पनि हाँसिन्थ्यो । अहिले त हामी हाँस्दैनौँ । किनभने एउटै स्वर बनाएर पानी जहाज चल्ने रहेछ भनेर अघि बढेका छौँ । यो विधेयक ल्याएकोमा धन्यवाद छ । अब यो विधेयकलाई ल्याइसकेपछि हाम्रा नदीहरूभित्र साना जहाजहरू कसरी चलाउन सकिन्छ, त्यसमा लागौँ ।’

    बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गोपालप्रसाद भट्टराईले पानी जहाज तथा जल यातायात भन्दा राम्रो हुने प्रस्ताव गरे । पानी जहाजसम्बन्धी विधेयक तत्काल अघि बढाउन जरुरी रहेको उनको भनाई थियो । उनले तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको उल्लेख गरे ।

    राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले पहिला पानी जहाज नेपालमा चलाउने भन्दा नकारात्मक बहस हुने गरे पनि अहिले सानासाना जहाजहरू चलाउन सकिने कुरा बुझ्दै गएको बताए । उनले भने, ‘पहिला पानी जहाज चलाउने भन्दा नेगेटिभ बहसहरू हुन्थे । तर अहिले पानी जहाज सञ्चालन तथा व्यवस्थापन भनेर विधेयक आएको छ । विधेयक ठिक भनेर संसदमा पनि पास गरिसकेका छौँ । नेपाल भूपरिवेष्टित देश भएको हुनाले यो देशमा पानी जहाज छैन, तर पानी जहाज राख्ने अधिकार पाउँछ भन्ने कुरा धेरै पहिला थाहा थियो । पानी जहाज निर्माण र पानी जहाज सेवा सञ्चालन गर्न कानुनको आवश्यक भयो, वर्तमान सरकारले अनुभूति गरेर यो विधेयक आयो । यो विधेयक कानुनमा परिणत भइसकेपछि नेपालीले अन्तर्राष्ट्रिय जलमार्गको उपयोग गर्न पाउनेछ । पानी जहाज सेवा सुरक्षित बनाउन यो विधेयक आएको छ ।’

    बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले नेपालमा पानी जहाज, पानी जहाज नेपालमा ? भन्दा अनौठो लागे पनि सानासाना पानी जहाज चलाउन सकिने कुरा बुझ्दै गएको बताए । उनले नेपालमा पानी जहाज अहिले आएर आवश्यक लागेको बताउनु भयो । हवाई यातायात भन्दा सस्तो हुने भएकाले पनि यो महत्त्वपूर्ण हुने बताए ।

    बैठकमा राष्ट्रिय सभा सदस्य डा वेदुराम भुसालले तत्काल पानी जहाज सञ्चालन गरिहाल्ने भन्दा पनि कानुनी आधार तयार पार्नुपर्नेमा जोड दिए । उनले यसका लागि छुट्टै निकाय आवश्यक भए कानुनमा राख्न जरुरी हुने बताए ।

    सांसदहरूले कानुन निर्माण गर्दा भाषालाई बचाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले आन्तरिक जलमार्गबाट पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरेका छन् । बैठकमा सांसदहरूले पानी जहाज भन्दा जल यातायात नाम राखेर जान सुझाव दिएका छन् । तर हरेक भूपरिवेष्टित राष्ट्रहरूले अन्तर्राष्ट्रिय जलमार्गमा गरेका अभिसन्धिअनुसार अरू नाम राख्न नमिल्ने व्यवस्था छ ।

    सरकारले जल यातायात विभाग नाम राख्न खोजेको भए पनि अन्तर्राष्ट्रिय कानुनअनुसार पानी जहाज कार्यालय नै भन्नुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रिय स्तरमा कार्यालय दर्ता गर्नुपर्ने भएकाले पानी जहाज कार्यालय नै नाम राख्नुपर्ने प्रावधान रहेको सरकारले स्पष्ट पारेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय