logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न प्रचण्डलाई ऊर्जा मन्त्रीको चुनौती

जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न प्रचण्डलाई ऊर्जा मन्त्रीको चुनौती


  • मंगलबार, फाल्गुन ६ २०८१

  • काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न चुनौती दिएका छन् । मंगलवार प्रतिनिसभामा बोल्दै ऊर्जा मन्त्री खड्काले पूर्वप्रधानमन्त्री प्रचण्डले जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भ्रष्टाचार भएको भन्ने विषय पुष्टि गरे मन्त्री पदबाट मात्र नभएर सांसदबाटै राजीनामा दिन तयार रहेको बताए ।

    उनले अन्य पूर्वप्रधानमन्त्रीहरुलाई तथ्यहीन कुरा नगर्न आग्रह गरे । खड्काले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदमा तथ्यहीन विषय बोलेको आरोप लगाए । केही दिनअघि प्रचण्डले संसदमै जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा भएको अनियमितताको विषय उठाएका थिए ।

    खड्काले सरकार अधुरा र अलपत्र परेका जलविद्युत आयोजनाहरूमा जनता र निजी क्षेत्रलाई साथमा लिएर काम गरिरहेको बताए । उनले अहिले सरकारले जनता र निजी क्षेत्रलाई साथमा लिएर यस्ता आयोजनाहरूको विकास गर्ने गरी मोडालिटी तयार गरिएको पनि उल्लेख गरे ।

    ऊर्जा मन्त्री खड्काले ठुला जलविद्युत आयोजनाहरूमा सरकारको अर्बौंको लगानी अलपत्र परेको अवस्थालाई मूर्त रूप दिने गरी काम गरिरहेको जानकारी दिए ।

    मन्त्री खड्काले बुढीगण्डकी,माथिल्लो अरुण,उत्तरगंगा जस्ता ठुला आयोजनाहरू अलपत्र अवस्थामा रहेको बताए । उनले नेपालको पानी जनताको लगानी अन्तर्गतका आयोजनाहरूमा प्रभावित क्षेत्रमा जनताले १० प्रतिशत लगानी गर्न पाउने विषयलाई कार्यविधिमा सरकारले संशोधन गरेको जानकारी दिए ।
    उनले गरिबीको रेखामुनि रहेका २० प्रतिशत नेपालीहरूले कम्तीमा पनि २ लाख देखि ५ लाख रुपैयाँको शेयर राख्न पाउने गरी सुनिश्चित गर्ने निर्णय भएको पनि बताए ।

    उनले निमुखा जनतालाई पनि राज्यले साथमा लिएर हिँड्नुपर्छ भन्ने उद्देश्यका साथ उनीहरूलाई सहुलियतमा लगानी जुटाइ दिने गरी काम गरिरहेको बताए । उनले भने, ‘आयोजनाको क्षमता हेरेर २ लाखसम्मको शेयर दिएर गरिबीको रेखा माथि उठाउने योजनाका साथ राज्यले लगानी गरेर लामो समय निर्माण सम्पन्न हुन नसकेका आयोजनाहरूलाई अघि बढाउने काम भइरहेको छ ।’

    उनले पछिल्लो सात महिनामा सरकारले विद्युत्को उत्पादन ३३३ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको बताए । उनले टिकाटिप्पणी भन्दा पनि भन्दा पनि सकारात्मक भएर सोच्दा मात्रै मुलुकलाई समृद्ध बनाउन सक्ने बताए । ऊर्जा मन्त्री खड्काले जलविद्युतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सकियो भने मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने दाबी गरे । उनले जलविद्युतमा ६२ खर्बको लगानी हुँदा लाखौँ रोजगारी र मुलुकको आवश्यकता पुरा हुने र विद्युत् निर्यात गरेर मुलुकको बजेट निर्धारण गर्न सक्ने ठुला आयोजनाहरूलाई अगाडि बढाउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

    उनले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाटको विद्युत् उत्पादन गरी १३ हजार मेगावाट मुलुकभित्रै खपत गर्ने कार्य योजना रहेको बताए । उनले पछिल्लो सात महिनामा सिँचाइ तर्फ गत वर्षको बाँकी रहेको भुक्तानी दायित्व २ अर्ब ३० करोड रुपैयाँको भुक्तानी गरेको उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय