logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसन विस्तारमा निजी क्षेत्रको चासो

विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसन विस्तारमा निजी क्षेत्रको चासो


  • मंगलबार, माघ २२ २०८१

  • काठमाडौँ । विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसनको आवश्यकता पनि बढ्दै गइरहेको छ । हाल नेपाल विद्युत् प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । माग बढेसँगै निजी क्षेत्र पनि चार्जिङ स्टेसनको विस्तारमा लागेका छन् ।

    प्राधिकरणका अनुसार देशभर करिब ६०० वटा स्टेसन बनाउन निजी क्षेत्रले अनुमति माग गरेको छ । हाल देशका विभिन्न स्थानमा करिब ५०० वटा चार्जिङ पोर्ट निजी क्षेत्रले चलाइरहेको छ । यीमध्ये अधिकांश विद्युतीय गाडी विक्रेताले आफ्नो शोरुम, सर्भिस सेन्टर र डिलरमा राखेका छन् । केही स्टेसन भने राजमार्गलाई केन्द्रित गरेर व्यावसायिक रूपमा सञ्चालन भइरहेका छन् । यसमा दिगो र इलेक्ट्रिभा जस्ता निजी क्षेत्रका कम्पनीले चार्जिङ स्टेसन निर्माणमा सघाइरहेका छन् । प्राधिकरण अनुसार पछिल्लो समय अटो क्षेत्रभन्दा बाहिरका व्यवसायीहरू पनि स्टेसनमा लगानी बढाउन आकर्षित भएका छन् ।

    प्राधिकरणका पूर्वाधार विकास प्रमुख सागरमणि ज्ञवालीले पछिल्लो दुई वर्षदेखि निजी क्षेत्रले चार्जिङ स्टेसन निर्माणमा निकै जोड दिएको बताए । यतिबेला अनुमति माग गर्नेहरू लगभग सबै राजमार्ग आसपासका लागि छन् । उनले भने, ‘केही अघिसम्म गाडी कम्पनीबाट अनुमतिको लागि निवेदन आउँथ्यो । अहिले अन्य क्षेत्रका व्यवसायी बढी आकर्षित भएको पाइएको छ ।’

    प्राधिकरणले चार्जिङ स्टेसन निर्माणका लागि ट्रान्सफर्मर लगायतका सुविधा दिन्छ । चार्जिङ स्टेसनका लागि २०० केभीए क्षमतासम्मका ट्रान्सफर्मर निःशुल्क वितरण गर्छ । त्योभन्दा माथिको आवश्यकता परे व्यवसायीले शुल्क तिर्नुपर्ने हुन्छ । तर बढ्दो चार्जिङ स्टेशनको मागका कारण प्राधिकरणले अनुमति मागेकालाई तत्काल दिन सकेको छैन । ज्ञवालीले भने, ‘एकै पटक धेरै निवेदन आउँदा तत्काल दिन सम्भव हुँदैन । केही ट्रान्सफर्मर स्टकमा पनि राख्नुपर्ने हुन्छ । त्यसैले अनुमति माग्नेहरूलाई बिस्तारै दिने गरेका छौँ ।’

    चार्जिङ पोर्टहरूको किलोवाटका आधारमा मूल्य पर्छ । यतिबेला ६० किलोवाट क्षमताको चार्जरको मूल्य करिब १५ लाख रुपैयाँ पर्छ । चार्जिङ स्टेसन नै निर्माण गर्नका लागि भने अन्य पूर्वाधारमा थप लगानी गर्नुपर्छ । यसले गर्दा दुई वटा पोर्टसहितको चार्जिङ स्टेसन बनाउन कम्तीमा पनि ५० लाख हाराहारी लगानी पर्ने गरेको छ । पछिल्लो समय चार्जिङ स्टेशनसँगै रिफ्रेस सेन्टरसहित रेस्टुरेन्टको व्यवसायमा बढी लगानी देखिएको छ । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले विद्युतीय गाडीको बढ्दो मागसँगै यससँग जोडिएका अन्य व्यवसायमा लगानी बढ्न थालेको बताए । उनले भने, ‘राजमार्ग आसपास चार्जिङ स्टेशनसँगै रेस्टुरेन्टमा अहिले लगानी बढी देखिएको छ । चितवन आसपास मात्रै करिब १५ वटा सञ्चालनमा छन् । अहिले भइरहेको लगानी हेर्दा केही समयमा यस्ता व्यवसाय थुप्रै हुन्छन् जस्तो लाग्छ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय