धनगढी । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले धनगढीमा मौन प्रदर्शन गरेका छन् ।
सार्वजनिक शिक्षा सुधारको माग राख्दै चपागाईंले सुदूरपश्चिमको राजधानी समेत रहेको धनगढीको चौराहामा उभिएर प्रदर्शन गरेका हुन् । उनले बिहीबारदेखि प्रदर्शन जारी राखेका हुन् ।
उनले सार्वजनिक शिक्षा सुधारको आफ्नो १५ बुँदे मागसहित ब्यानर टाँगेर सडकमा उभिएर मौन प्रदर्शन गरिएको बताए ।
नयाँ शिक्षा ऐन ल्याउँदा देशैभरका स्थानीय तहमा कानुन निर्माणमा जटिलता र अन्योल सिर्जना गरेकाले उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा तत्काल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।
गण्डकी प्रदेशको पोखराबाट प्रदर्शन थालेका चापागाईँले शिक्षा ऐन परिवर्तन गर्न सरकारलाई दबाब दिने उद्देश्यले सबै प्रदेशमा प्रदर्शन गरिने योजना रहेको सुनाए ।