logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादीको परामर्श समिति बैठक आज सकिने, केन्द्रीय समिति बैठक दसैँ लगत्तै

माओवादीको परामर्श समिति बैठक आज सकिने, केन्द्रीय समिति बैठक दसैँ लगत्तै


  • आइतबार, असोज ६ २०८१

  • काठमाडौँ । भदौको पहिलो हप्तादेखि सुरु भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समिति बैठक आइतबार सम्पन्न हुँदैछ । साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक राख्ने निर्णय गरेको थियो ।

    स्थायी समिति बैठकको निर्णयअनुसार भूगोलका सात प्रदेशका साथै गैरभूगोलतर्फ उपत्यका विशेष, प्रदेश समन्वय, प्रवासतर्फ एसिया, युरोप अमेरिका समिति केन्द्रीय निकाय, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न भइसकेको छ ।

    अन्तिम दिन सार्क राष्ट्रमा कार्यरत केन्द्रीय सदस्यहरू र पदाधिकारीको संयुक्त बैठक रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक सकिएपछि आवश्यकताअनुसार केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्ने उनले रातोपाटीलाई बताए । सापकोटाका अनुसार केन्द्रीय समिति बैठक दसैँ लगत्तै बस्नेछ ।

    केन्द्रीय पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समिति बैठकबाट आएका सुझावका आधारमा केन्द्रीय समितिले बृहत् योजना ल्याउने योजना रहेको उनले सुनाए । सापकोटाले अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै वामपन्थी दलहरू गोलबन्द भएर जानुपर्नेमा सुझाव आएको स्पष्ट पारे ।

    ‘समीक्षा राम्रो भइराखेको छ । विचारको बहस पनि  भइराखेको छ । समाजवादी विचारधारा निर्माणको बहसतिर पनि लगिराखेको छ । सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको आधारमा प्रचण्डको नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्नुपर्छ भन्ने साझा निष्कर्ष छ’, उनले भने, ‘सबै चुनौतीको सामना गर्न बृहत् वामपन्थी एकीकरण आवश्यक छ । त्यसको साथसाथै कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्छ भन्नेमा सबैको जोड छ । नयाँ चुनौतीको सामना गर्न नयाँ विचार संश्लेषण आवश्यकता रहेकोमा सबैको जोड रहेको छ ।’

    स्थायी समिति बैठकमा पुष्पकमल दाहाल प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी दस्तावेज पेस गरेका थिए । पार्टी निर्माण र नेतृत्वको विकल्पको सम्बन्धमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठको छुट्टै दस्ताबेज पेस गरेका थिए । परामर्श समिति बैठकमा स्थायी समिति बैठकको निर्णयसहित शर्माको दस्तावेजमाथि पनि छलफल भएको थियो । सबै प्रदेशमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबैको विचारलाई समेटेर केन्द्रीय समिति बैठकमा राजनीतिक दस्तावेज प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय