भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताएका छन् । भक्तपुरस्थित पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राखे ।
उनले भने, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।”
नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ उनले सचेत गराए । सांसद सुवालले भने, “विदेश पठाइएकाहरूको जीवन पनि सुखी भइरहेको छैन । कतिपय ठगीमा परेका छन् । बिदेसिएका नेपालीहरूको दैनिक ५–१० वटा लास नेपाल फिर्ता भइरहेकोतर्फ सजग हुनु आवश्यक छ ।”