काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा उनले विगतको सरकार रहनु भनेको बरबादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताए ।
उनले भने, ‘अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किनभने त्यसले केही पनि काम गर्दैन थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छ को अवस्थामा थियो । गोठमा बाधेको गाई भैँसीजस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन ।
अघिल्लो सरकारको हालत त्यस्तो थियो । त्यो सरकार रहनु भनेको बरबाद कै कुरा हो भन्ने निष्कर्षमा हामी पुग्यौँ र परिवर्तनको पहल गर्यो।’ विगतको सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको भन्दै हरेक क्षण दुर्घटना हुने खतरामा देश भएको हुनाले पनि सरकार परिवर्तनको अभियानमा लागेको उनले बताए ।