काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले काँग्रेसका युवा नेताहरुले बिरोध गरिरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले लोकतन्त्र सिकाउन खोज्ने काँग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो? भन्दै प्रश्नसमेत गरे। उनले काँग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए।
उनले देशको नेतृत्व गर्न नपाउने छटपटिमा काँग्रेसका युवा नेताहरु तड्पिएको बताए। उनले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न काँग्रेसलाई आग्रह गरे। उनले काँग्रेसले हामी बोलि रहन्छौँ, तँ सुनिराख, तर बोल्न पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताए।
उनले भने,‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले। उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ । तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटि भएको छ। अचम्म लाग्छ। जनताले त भोट हालिहाल्छ नि तपाईले राम्रो काम गर्नुभयो भने।’
अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक/दुई लाख रुपैयाँसम्म दिने बताए। उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए। उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गरे।
उनले भने,‘रास्वपको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला। मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा। म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ। मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ। मै ठगिएको छु।’
श्रममन्त्री अर्यालले कुनैपनि दिन देशको कानूनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको बताए। उनले केही गर्छु देशका लागि भनेर आउनेलाई कस्टडीमा राख्दै जाने हो भने नुवाकोटको जेल छिटै उद्घाटन हुँदै गरेको र जेल भर्ने लक्ष्यका साथ आरोप लगाइएको हो भने आफूहरु गएर बस्न तयार रहेको बताए। उनले देशमा जेलमा नबसेको मानिसले राजनीति गर्न हुँदैन भन्ने नेपाली काँग्रेसको बुझाइ हो भने जेलमा गएर बस्न स्वीकार रहेको बताए।