काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले २२ गते बिहीबार संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो । लुम्बिनी प्रदेशका गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बिहीबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।
पाण्डेले भने -‘जे हुन्छ बैठक मै हुन्छ। त्यसैले सरकारले बैठक आव्हान गरेको छ ।’ केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । यता माओवादी , एमाले सहित दलहरू पनि केन्द्रीय समीकरण अनुसार माओवादीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका छन् ।