काठमाडौँ । पोल्यान्डकी ईगा स्विटेकले इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि चुमेकी छन् । उनले दोस्रो पटक इन्डियन वेल्सको उपाधि जितेकी हुन् । २२ वर्षीया ईगाले आइतबार राति खेलिएको फाइनल खेलमा ग्रिसकी अनुभवी खेलाडी मारिया साकारीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएकी हुन् ।
सन् २०२२ मा पनि यी दुई खेलाडीबिच नै उपाधि भिडन्त भएको थियो । ईगाले २८ वर्षीया साकारीलाई हराउन ६९ मिनेट समय खर्चिएकी थिइन् । पहिलो सेटमा ६–४ ले अगाडि रहेकी ईगाले दोस्रो सेटको नतिजालाई पनि ६–० ले आफ्नो पक्षमा पारेकी थिइन् । ईगाले आफ्नो खेलजीवनमा जितेको यो १९औँ उपाधि पनि हो । यो वर्ष उनले दोस्रो उपाधि हात पारेकी हुन् । यसै वर्ष उनले कतार ओपनको उपाधि पनि जितेकी थिइन् ।
ईगाले हालसम्म चारपटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि पनि जितिसकेकी छन् । उनले तीनपटक फ्रेन्च ओपन र एकपटक यूएस ओपनको उपाधि जितेकी हुन् । उनले हालसम्म विम्बल्डन र अस्ट्रेलियन ओपनको उपाधि भने जित्न सकेकी छैनन् ।