काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो । देशभरका ६२ वटा आङ्गिक क्याम्पसहरूमध्ये २०७९ चैत ५ गते ४४ आङ्गिक क्याम्पसहरूमा निर्वाचन भएको थियो। भने १३ वटा अवरोध सिर्जना भएको थियो।
एक बर्सको अवसरमा स्ववियुहरूले क्याम्पसहरूले सहकार्य र सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको थियो । त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको थियो।
जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुँदै आएका छन् । २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । त्यसयता निर्वाचन हुन सकेको थिएन।