काठमाडौं- नेपाली कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन्।आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए।
उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए। उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए।सांसद पाण्डेले भने, ‘अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट एमाले र कांग्रेसले छलफल अघि बढाउनु हुँदैन। देशमा एकखालकाे संकट आइरहेको छ। व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् ।
व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तिमा कांग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मूल शक्ति हुन् । एक प्रकारले यो व्यवस्थाका संस्थापक नै हुन्। हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो।’उनले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभइ व्यवस्था बलियो बनाउन हुनुपर्ने पनि बताए।