काठमाडौँ । राप्रपाको एक समूहले पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पूर्वएआईजीसमेत रहेका कार्यसम्पादन समिति सदस्य श्रेष्ठलाई पार्टी कार्यालयभित्रै कुटपिट भएको थियो ।
पार्टीको कार्यसम्पादन समिति बैठक चलिरहेकै बेला खाना खाने समयमा श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका हुन् ।
स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थियो । नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि श्रेष्ठमाथि आक्रमण भएको थियो । उनीमाथि आक्रमण भएपछि राप्रपाका शीर्ष नेताहरुले छुट्ट्याएका थिए भने लगत्तै उनीहरु फरार रहेका छन् । श्रेष्ठमाथि भएको आक्रमणको घटनापछि सीसीटीभी भुटेज हेर्ने काम भइरहेको छ । अहिले बैठक रोकेर यही विषयमा छलफल भइरहेको बताइएको छ ।