काठमाडौँ । ट्राफिक प्रहरीको असुलीका कारण यहाँका व्यवसायी आजित बनेका छन् । बारामा ट्राफिक प्रहरीले अनेकौं बहानामा रकम असुली गर्ने, ट्याक्टर व्यवसायीहरूसंग महिनावारी उठाउने, भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनहरूबाट खुलेयाम रकम असुली गर्ने जस्ता कार्यहरू भैरहेका छन् । विभिन्न संचार माध्यमहरूमा बाराको ट्राफिक प्रहरीको असुली धन्दाको बारेमा तथ्य सहितका समाचार प्रकाशित तथा प्रसारित भैरहेका छन् । तर प्रहरी प्रधान कार्यालय मात्रै होइन प्रदेश प्रहरी र प्रदेश ट्राफिक प्रहरी कार्यालय कसैले पनि छानबिन र अनुसन्धान नगरेको कारण बारामा ट्राफिक प्रहरीको असुली झनै व्यापक भएको छ ।
धान, मकै आलु जस्ता सामान बोक्ने ट्याक्टरहरू यहाँ दैनिक २५० भन्दा बढी चल्ने गर्दछन् । क्षमता भन्दा बढी अर्थात् ओभरलोड सामान बोक्ने यस्ता ट्याक्टरहरूबाट बाराको कलैया र गण्डकमा कार्यरत ट्राफिकले १५० देखि २०० रूपैयाँ प्रत्येक ट्याक्टरबाट उठाउने कार्य गर्दै आएको छ । कलैयामा त ट्राफिक प्रहरीलाई ट्याक्टरवालाहरूले महिनावारी रकम दिनैपर्ने बाध्यता रहेको छ । महिनावारी रकम नदिए अनेक बहानामा ट्राफिक प्रहरीले दुख दिने, बढी जरिवाना लगाइदिने गर्ने गरेको व्यवसायीहरू बताउँछन् ।
कलैयामा ट्राफिक प्रहरी प्रमुखमा सई कार्यरत छन् । तर रकम उठाउने काम हवल्दारले गर्दै आएका छन् । त्यसैगरी गण्डक ट्राफिक मा पनि वरिष्ठ हवल्दार शम्भु चौहानले रकम उठाउने कार्य गर्दै आइरहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रमुख प्रहरी निरीक्षक राजकुमार महतोलाई मासिक तोकिएको रकम बुझाउनु पर्छ भन्दै गण्डक र कलैया मा खुलेयाम रकम असुली भैरहेको छ । यसबाहेक भारतीय नम्बर प्लेटका मालबाहक गाडीहरूबाट पनि खुलेयाम रकम लिइरहेको जोकोहीले पनि देख्न सक्छ । ट्राफिक प्रहरीको असुली धन्दाको वारेमा ट्राफिक प्रहरी निरीक्षक महतोसँग प्रतिक्रिया लिन हाम्रो स्थानीय संवाददाता जितेन्द्र साहले बारम्बार फोन सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् । बारामा गत आर्थिक वर्षमा ९७२ वटा साना–ठूला सवारीसाधन दुर्घटना हुँदा ९८ जनाको मृत्यु भयो । यस आर्थिक वर्षको ६ महिनामा मात्रै ४८८ दुर्घटना हुँदा ५० जनाको मृत्यु भइसकेको छ । राजमार्गको दक्षिणी भेकका सडकमा दुर्घटनाको दर बढी छ । यस आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ६५९ सवारीसाधन कारबाहीमा परेका छन् ।