काठमाडौँ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेह(सुगर)का बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ। अस्पताल विकास समितिका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गरे।अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिले नै निवारण हुने गरी सचेतना फैलाउनुपर्नेमा जोड दिए। अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सेवाग्राहीसँग विनम्र र हँसिलो अनुहारले सेवा दिन उनले आग्रह गरे। बिरामीप्रति गरिने व्यवहारले नै उनीहरुको ५० प्रतिशत रोग निको हुन सहयोग पुग्ने उनको भनाई छ।क्लिनिक उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा सुदर्शन थापाले छुट्टै क्लिनिक सञ्चालनसँगै मधुमेहका बिरामीका लागि सहज हुने उल्लेख गरे। एउटै बिरामीले २ दिनसम्म समय खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहयोगी हुने उल्लेख गरे।
क्लिनिकबाट अब दैनिक १ सय बढीले सेवा लिन सक्ने उनको भनाई छ। क्लिनिकमा बिहान ७ बजेदेखि नै ल्याव टेस्टका लागि नमूना संकलन गरिने बताउँदै डा.थापाले अन्य सेवासहित अब दैनिक ३ सय जनालाई प्रयोगशालाबाट सेवा प्रदान गर्न सकिने उल्लेख गरे।अस्पतालमा दैनिक ५० जना बढी मधुमेहका बिरामीहरु परीक्षणका लागि आउने गरेकोमा अब यसको संख्यामा वृद्धि हुने उनले उल्लेख गरे।