२२ साउन, पोखरा : अन्तिम फैसला नआउँदासम्म लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले आइतबार परमादेश जारी गरेको छ ।महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।
स्थानीयको अवरोधका कारण पोखरा महानगरको फोहोर ११ दिनदेखि उठाउन रोकिएको छ । फोहोर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि महानगरको दमकल शाखामै अस्थायी व्यवस्थापन थालिएको थियो ।पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।