प्रतिनिधिसभा नियमावली २०७९ मा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगरिने उल्लेख छ । नियमावलीको को नियम १७५ (२) मा भनिएको छ, ‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन ।’ अर्थ समितिको कार्यक्षेत्रमा अर्थ मन्त्रालय, लगानी बोर्ड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग छन् ।चौधरीको बैंक तथा वित्तीय संस्थामा ठूलो लगानी रहेको र ती विषय समितिको कार्यक्षेत्र पर्ने भएकाले त्यहाँ उनको स्वार्थ बाझिने विरोधीहरुको भनाइ छ ।कांग्रेसकै एक वरिष्ठ नेताले पनि समितिमा चौधरीको स्वार्थ बाझिने बताए । ‘उहाँ ठूलो व्यापारी हुनुहुन्छ, त्यसो हुँदा सभापतित्व गर्न मिल्दैन भनेर समितिमा आवाज पनि उठेको छ । तर, पनि उहाँले सोमबारलाई बैठक बोलाउनुभएछ,’ ती नेताले नाम उल्लेख नगर्ने शर्तमा भने ।
एमालेका सांसद् सूर्य थापाले समितिमा चौधरीको स्वार्थ बाझिने भन्ने विषय पनि उठेको र उनले समय पनि नदिएकाले उनी पछिका ज्येष्ठ सदस्य चालिसेले सभापतित्व गरिरहेको बताए । ‘उहाँको स्वार्थ बाझिने कुरा आएको छ, त्यसो हुने नहुने स्वघोषणा गर्नुपर्छ भनेर मैले भनेको छु, तर जनताबाट निर्वाचित भएको आएको सांसद्को हैसियतले सभापतित्व गर्न पाउनुपर्छ भन्ने उहाँले भन्नुभएको छ,’ उनले भने ।चौधरीले बीचमा आफूले अब समय दिने र नियमित रुपमा सभापतित्व गर्ने भने पनि समय नदिएको उनले बताए । ‘उहाँ आफैँ विवादित पनि हुनुहुन्छ, उहाँले समय नदिएर लामो समय अर्को सदस्यले सभापतित्व गरिसकेको अवस्थामा अहिले आएर सभापतित्व गर्छु भन्नु स्वाभाविक छैन,’ उनले भने ।यसअघि २१ असारमा बसेको बैठकमा चौधरीले सभापतित्व गरेपछि राप्रपाका ज्ञानेन्द्र शाही, एमालेका सूर्य थापालगायतले विरोध गरेका थिए । ‘उहाँ सभापति मात्रै होइन, सदस्य पनि बन्न मिल्दैन,’ चौधरीबारे राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भनेका थिए ।अर्थसमितिमै अन्य केही सदस्यहरु पनि स्वार्थ बाझिने किसिमकै छन् । अर्की सदस्य भगवती चौधरी फरवार्ड लघुवित्तकी निवर्तमान अध्यक्ष हुन्् । त्यस्तै, जुलीकुमारी महतो पनि व्यवसायी हुन् ।
सांसद्् चौधरीले भने प्रतिनिधिसभा नियमावली बमोजिम आफूले समितिको सभापतित्व गर्नु नियमसम्मत हुने बताउँछन् । ‘समितिको ज्येष्ठ सदस्य दीपक बोहोरा बोल्न नसक्ने भएकाले उहाँले सभापतित्व गर्नुभएको छैन, त्यसपछिको ज्येष्ठ सदस्य म हुँ,’ उनले भने, ‘समिति बैठकमा उपस्थित ज्येष्ठ सदस्यले सभापतित्व गर्ने हो, म समेत अनुपस्थित हुँदा सन्तोष चालिसेले सभापतित्व गर्नुभएको हो,’ उनले भने ।
आफ्नो विशेषज्ञता र कार्यअनुभवका आधारमा आफू अर्थ समितिको सदस्य हुनु स्वाभाविक रहेको उनको भनाइ छ । तर, अन्य कसैको स्वार्थ पूर्तिका लागि स्वार्थको द्वन्द्वको विवाद झिकिएको उनको भनाइ थियो । ‘विभिन्न पेशा व्यवसायका मानिसहरु पहिले पनि मन्त्री भएका छन्, अहिले पनि छन्, उनीहरुको स्वार्थ नबाझिने, मेरो मात्रै बाझिने भन्ने हुँदैन,’ उनले भने । स्वार्थ बाझिने नाममा विषयवस्तुबारे जानकारी नभएको मानिसलाई समितिमा नराख्ने, त्यसबारे जानकारी नै नभएकोलाई राख्ने कुरा उचित नहुने उनको भनाइ छ । ‘स्वार्थको द्वन्द् भनेको अमूर्त र अपरिभाषित विषय हो, कसैमाथि प्रहार गर्नुपर्यो भने यो विषय ल्याउने गरिएको छ,’ उनले भने ।