१५ साउन, धनगढी : कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेको जानकारी दिए ।
प्रहरीका अनुसार मृतक मञ्चु र गोमा नातेदार हुन् । उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुुलेको डीएसपी चन्दले बताए ।मृतक रावलका छोरा विवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरीया जान्छु भनी हिँडेकी आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाँऊ भनी असार १ गते प्रहरीमा निवेदन दिएका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो ।साउन १४ गते प्रतिवादी सरिता रावलले मन्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो ।उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रंगको कुर्ता सुुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ ।चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।