पर्वत : पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ ।
स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ । मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए । “चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्”, उनले भने, “पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ ।”मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए । विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो ।यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए । पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्दै आउनुपरेको छ ।