काठमाडौँ : धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो ।शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौँ भक्तजनले मेला अवलोकन गरेको वडा नं १ का वडाध्यक्ष रमेश लामिछानेले जानकारी दिए । पछिल्लो समय टोखा नगरपालिका–१ वौडेश्वर झरना तथा मन्दिरमा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
टोखामा वौडेश्वरसहित सपनतीर्थ, चण्डेश्वरी लगायतका महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर रहेका छन् भने टोखा बजारमा नेवार समुदायले विभिन्न जात्रा मनाउँदै आएका छन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको सांस्कृतिक संरक्षणका लागि हरेक आर्थिक वर्षमा बजेट समेत विनियोजन गर्दै आइरहेको जानकारी दिए ।