६ साउन, विराटनगर : विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको शुक्रबार जन्मदिन थियो । २८ औं जन्मदिनको दिन उनी बिहान मन्दिर गए । परिवारका सदस्यलाई मिठाई बाँडे । बेलुका जन्मदिन मनाउने तयारी थियो ।विहान करिब साढे ११ बजे साथीसँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए ।तर रोहित फर्किएनन्, परिवारले उनको मृत्युको खबर पायो । खबर पाएपछि आफन्त भावविह्वल छन् । आमा अर्थचेत छिन् । शनिबार दिउँसो उनको शव ल्याउनु भन्दा अगाडिसम्म आमा जानकीलाई रोहित घाइते भएको र उपचार भइरहेको भनिएको थियो, मृत्युको खबर सुनाइएको थिएन ।
मृत्युको खबर सुनेर रोहितको घरमा आएका छिमेकीलाई पनि फुफुदिदी शान्ता चौधरीले आमालाई रोहितको उपचार हुँदैछ भनिदिन आग्रह गर्दै थिइन् । ‘रोहितको उपचार हुँदैछ भनेर आमालाई ढाँटिरहेका छौं,’उनले भनिन्, ‘हामीलाई पनि विश्वास लागिरहेको छैन कसरी यस्तो घटना भयो ।’रोहित पाँच वर्षदेखि नोबेल मेडिकल कलेजमा काम गर्थे । साथीसँग मूलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती पुलको दक्षिणतर्फ चौधरीमाथि तीन जनाको समूहले गोली प्रहार गरेको थियो
बेलुका करिब साढे ५ बजे पानी खानका लागि मोटरसाइकल रोकेका बेला उनी माथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका रोहितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीसँगै घुम्न गएकी साथी सामान्य घाइते छिन् ।रोहितकी फुपु दिदी शान्ता चौधरीका अनुसार परिवारका तीन छोरामध्ये रोहित जेठा हुन् । शुक्रबार बेलुका नोबेल मेडिकल कलेजमै काम गर्ने काकाकी छोरीले रोहितमाथि गोली प्रहार भएको खबर पाइन् । उनैले रोहितको घरमा खबर गरिदिइन् ।रोहितलाई किन गोली हानियो भन्नेमा परिवारका सदस्य अनविज्ञ छन् । ‘त्यो बाटो त चलेकै बाटो हो, दिउँसै त्यस्तो घटना हुनु अचम्म जस्तै लागिरहेको छ’, शान्ताले भनिन्, ‘घटना किन भयो गर्ने र देख्नेलाई थाहा भयो होला ।’रोहितको हत्याको खबर पाएपछि उनको परिवार र टोल शोकमा डुबेको छ । उनका बुबा काठका मिस्त्री हुन् । उनका हजुरबुबा रामबहादुर चौधरी प्यारालाइसिसका कारण १७ वर्षदेखि हिँडडुल गर्न सक्दैनन् ।
शुक्रबार बेलुका सेउती पुल नजिकै मोटरसाइकल रोकेको अवस्थामा तीन जनाको समूहले उनीमाथी गोली प्रहार गरेको थियो । लुटपाटका लागि आएको समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।सुनसरीको इटहरी–धरान सडक खण्डको जंगल क्षेत्रमा लुटपाटको प्रतिकार गर्दा चौधरीमाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।