काठमाडौँ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायण काजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुक मार्फत भ्रामक प्रचार गर्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको भ्रामक समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेत विरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आजै उजुरी दिएका हुन्।
त्यस्तै इन्द्रप्रसाद आचार्य सम्पादक/प्रकाशक, सूर्यप्रसाद फुयाँल प्रधान सम्पादक र रमण कोइराला प्रबन्ध सम्पादक रहेको जनबोली डटकम नामक जनबोली न्यूज नेटवर्क प्रालिको अनलाइन मिडियाले समेत २०८० साल साउन ४ गते “तौलन नसकिने हालसम्मकै ठुलो परिणाममा सुन बरामद, गृहमन्त्री श्रेष्ठको संलग्नता” शीर्षकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध अपराधिक मनोवृत्ति राखेर भ्रमपूर्ण समाचार सार्वजनिक गरेको थियो। उक्त मिडियाले गणेश बस्नेतको स्टाटसलाई नै हवाला दिएर ‘गृहमन्त्री श्रेष्ठले सुन पास गरेको’ ठोकुवा गरेको थियो।उक्त मिडियाका जिम्मेवारहरूलाई यस्तो झुटो र भ्रमपूर्ण समाचार छापेको कसुरमा तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न अध्यक्ष बालकृष्ण बस्नेतलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालमा सल्लाहकार गिरीले उजुरी दिएका हुन् । काउन्सिलले आजै पत्र काटी उक्त मिडियालाई काउन्सिलमा उपस्थित भएर समाचार प्रमाणित गर्न अथवा माफी सहित समाचार हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ।