२ साउन, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाश शरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।
उक्त भेटका अवसरमा मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे ।सुरुङमार्गको प्रसङ्गमा टोखा-छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गे ।