उनीसहित १० जनालाई कामको मूल्यांकन गर्दै आईजीपीले विशेष बढुवा दिएका छन् । प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ । त्यही प्रावधान अनुसार कुँवरले १० जनालाई विशेष बढुवा दिएर पुरस्कृत गरेका छन् ।पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ हवल्दार सविर अलि अन्सारी पनि छन् । आतंकवाद र विशिष्ट प्रकृतिको अपराध अनुसन्धान गर्ने विशेष ब्यूरोमा कार्यरत उनी अब प्रहरी सहायक निरीक्षक बनेका छन् ।अन्सारी ०६२ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आतंकवाद, अतिवाद र त्यससँग सम्बन्धित अन्तरदेशीय र संगठित अपराध अनुसन्धानमा संलग्न छन् ।‘अन्तरदेशीय आपराधिक गतिविधिविरुद्धको कारबाहीसँगै उनले आन्तरिक सुरक्षालाई चुनौती दिने गतिविधिका सूचना संकलन, निगरानी र कारबाही प्रक्रियामा संलग्न रहेर दिएको जिम्मेवारी पूरा गरेर प्रहरीको गरिमालाई उच्च राख्ने काम गरेका छन्’, प्रहरी नायब महानिरीक्षक डीआईजी प्रवक्ता कडायत भन्छन्, ‘उनी नक्कली भारतीय रुपैयाँ एक करोड ३६ लाख र नक्कली अमेरिकन डलर १९ हजार ५ सयसहित विशेष ब्यूरोले मानिसहरुलाई समातेको अपरेशनमा समेत संलग्न थिए ।’
गैरकानूनी गतिविधि गर्दै विभिन्न विशिष्ट व्यक्ति, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र सर्वसाधारणलाई डर, त्रास र धम्की दिएर असुली गर्ने कार्यमा संलग्नमाथिको निगरानी र सूचना संकलनमा पनि उनी सक्रिय रहेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह प्रतिबन्धित भएका बेला प्रहरीले चलाएको अपरेशनहरुमा उनी संलग्न रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।अन्य विभिन्न समूहको आवरणमा हत्या, अपहरण र चन्दा असुली गर्ने व्यक्तिहरुको अनुसन्धानमा पनि अन्सारीले महत्वपूर्ण भूमिका खेलेको प्रवक्ता कठायत बताउँछन् । बढुवाको पुरस्कार पाएका प्रहरी सहायक हवल्दार गनकुमार खण्डलुकले गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत रहेर खोज तथा उद्दारमा महत्वपूर्ण भूमिका खेलेको प्रहरी अधिकृतहरु बताउँछन् ।
‘२०७० सालदेखि उनले खोँच तथा भीरमा खसेका मानिसहरुको उद्दार गरेका छन्’, प्रवक्ता कडायत थप्छन्, ‘०७९ र ०८० सालको अवधिमा हालसम्मको अवधिमा मात्रै उनले ७ गम्भीर खोँचमा खसेका व्यक्तिको उद्दारमा खटिएका थिए ।’प्रहरीका अनुसार, उनी १ माघ २०७९ मा पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि पनि खोज तथा उद्दारमा सहभागी थिए ।बढुवा पाएकामध्ये प्रहरी सहायक निरीक्षक अर्जुन सेठी जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत छन् । उनी ७ वैशाख २०८० मा कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरु पाण्डेको हत्याको अनुसन्धानमा सरिक थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको घटनाको अनुसन्धानमा पनि उनी संलग्न थिए । २५ साउन २०७७ मा गोंगबुमा सुटकेसमा शरीर र बेग्लै स्थानमा टाउको भेटिएको घटनाको अनुसन्धानमा समेत सेठी खटिएका थिए ।बढुवा पाउनेमध्ये अर्का प्रहरी सहायक हवल्दार सुवास नेपाली हुन् । सोलुखुम्बुको इलाका प्रहरी कार्यालय, नाम्चेमा कार्यरत उनी उच्च हिमाली भेग (५ हजार मिटरभन्दा माथि) हुने विदेशी नागरिकको उद्दार र जाँच प्रकृति जाँच मुचुल्का गर्ने कार्यमा सरिक हुने गरेका छन् ।उनले खाङते हिमालमा हराएका ३ फ्रान्सेली नागरिकको खोजतलासका लागि अन्तर्राष्ट्रिय उद्दार टोलीसँग मिलेर काम गरेका थिए । उच्च हिमाली भेगमा हुने अपराधलाई न्यूनीकरण गर्न उनी सगरमाथा आधार शिविरमा ट्रेकिङ एजेन्सीहरुमा नियमित अनुगमनमा खटिने गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायत बताउँछन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी सहायक हवल्दार लक्ष्मण सापकोटाले पनि विशेष बढुवा पाएका छन् ।उनले २६ जेठ २०६६ मा मनाङमा यार्सागुम्बा टिपिरहेका ७ जनालाई घेरा हालेर हत्या गरिएको घटनामा १० वर्ष कैद सजाय तोकिएका फरार आरोपीलाई पक्राउ गर्न भूमिका खेलेका थिए । त्यो घटनाका फरार प्रतिवादी १० भदौ २०७९ मा स्वयम्भुबाट पक्राउ परेका थिए । उनले अन्य थुप्रै कसूरका फरार प्रतिवादीलाई समात्न भूमिका खेलेको प्रहरी अधिकृतहरु बताउँछन् ।विशेष बढुवा पाएका प्रहरी जवान लोचन अधिकारी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत छन् । उनी १५ असार २०७९ मा अवैध मृगौला तस्करी गर्ने गिरोह समातिएको प्रकरणको अनुसन्धानमा संलगन थिए ।
मानवबेचिबखन सम्बन्धी कसूरका प्रतिवादीहरुलाई उनले पटकपटक विमानस्थलबाट समेत पक्राउ गरेका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार उनी २३ जेठ २०८० मा नेपाली महिलालाई भारत गरेर बेचबिखन गर्ने व्यक्तिको पक्राउ गर्न समेत खटिएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक वामदेव घिमिरेले पनि विशेष बढुवा पाएका छन् । उनी आयोगको बुटवलस्थित कार्यालयका लागि स्टिङ अपरेशनमा खटिने प्रहरी अधिकृत हुन् ।
विशेष बढुवा पाएकामध्ये प्रहरी नायब निरीक्षक तिलराम बोहरा सार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् । उनी २८ वर्षदेखि निरन्तर प्रहरी एकेडेमीमा प्रशिक्षकको भूमिकामा कार्यरत रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको प्रहरी प्रवक्ता कुवेर कडायत बताउँछन् ।प्रहरी एकेडेमीमा सञ्चालन भएको प्रहरी निरीक्षक आधारभूत, प्रहरी सहायक निरीक्षक आधारभूत, प्रहरी अधिकृत (प्राविधिक), स्टाफ कलेजमा शाखा अधिकृत, राष्ट्रिय अनुसन्धान अधिकृत, कवाज प्रशिक्षक प्रशिक्षण तालिमहरुमा बाह्य प्रशिक्षक तथा प्लाटुर कमाण्डरको रुपमा खटिएर उनले प्रशिक्षार्थीहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।