काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धन बहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले राना र बोहरासँग सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा, भाटसँग ४ लाख ११ हजार ६०६ र विष्टसँग ३ लाख १७ हजार ९०८ रुपैयाँ ५० पैसा मागबादी गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।