काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) कारबाहीको तयारी गरे पनि मधेस ट्रेड युनियन महासङ नेपालका अध्यक्ष पल्टन ठाकुर जनमत पार्टीमा प्रवेश गरेका छन् ।स्विजरल्याण्डको जेनेभामा आयोजित ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग गएका मधेस ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का उतै हराएपछि अध्यक्ष ठाकुर विवादमा तानिएका छन् । महासंघका अध्यक्ष ठाकुरले सम्मेलनमा सहभागी हुनका लागि मजदुर नेताको रूपमा खड्कालाई सिफारिस गरेका थिए । सम्मेलनमा सहभागी हुन गएका उनी हालसम्म फर्केका छैनन् । लोसपाका नेता समेत रहेका अध्यक्ष ठाकुरले खड्कासँग १२ लाख रुपैयाँ लिएर भ्रमण टिममा सहभागी गराएको आरोप छ ।
पल्टन ठाकुरले काँग्रेसबाट राजनीति सुरु गरेका हुन् । त्यहाँ नाइ संघमै विवाद भएपछि उनी पार्टी छाडेर तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । तर त्यहाँ पनि टिक्न सकेनन् । अनि उनी राजेन्द्र महतोको तत्कालिन सद्भावना पार्टीमा प्रवेश गरे । राजेन्द्र महतोसँगै लोसपासँग पुगेका ठाकुर अहिले पार्टी छाडेर असार २४ गते जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमतले मधेशी ड्रेड युनियन महासङ्घ नेपाललाई आधिकारिक रूपमा आफ्नो शुभेच्छुक संगठनको रूपमा आवद्धता दिएको छ ।