दक्षिण कोरिया -: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनबीचे शिष्टाचार भेटवार्ता भएको छ ।सेमाउलले कोरियाको बुसानमा आयोजना गरेको विश्वका मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका मन्त्री मोदीसँग अध्यक्ष डे हुनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा सेमाउलका अध्यक्ष ख्वाक डे हुनले नमुना गाउँ निर्माणका लागि समोउलमार्फत् आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । जनताको जागरुकता र जागरणमा नमुना गाउँ निर्माण गर्ने आफूहरूको प्राथमिकता भएकाले त्यहीअनुसार सेमाउलले नेपाललाई सहयोग गर्ने बताए ।
मन्त्री मोदीले सेमाउल र कोरिया सरकारमार्फत नेपालको विकास निर्माण लगायतका क्षेत्रमा गर्न सक्ने सहयोगका लागि समेत सेमाउलका अध्यक्ष डे हुनमार्फत् अपिल गरेका छन् । “सेमाउल र कोरिया सरकारमार्फत नेपालको विकास र अन्य समग्र क्षेत्रको सहयोगका लागि म विशेष अपिल गर्न चाहन्छु” मन्त्री मोदीले भने, “सेमाउल मोडल हाम्रा देशका लागि पनि अनुकरणीय छ, जनताको श्रम सहभागिताबाट नमुना गाउँ निर्माण गर्ने यो अभियानको थपविकास र विस्तारमा हामी सदैव यहाँहरुसँगै रहनेछौँ ।”
सेमाउल मोडल नेपालजस्तो मुलुकको लागि प्रेरणाको स्रोत भएको समेत मन्त्रीमोदीको भनाइ थियो ।