नार्कका अनुसार चामलको बढ्दो प्रयोग र बढिरहेको जनसंख्या अनुसार धानको उत्पादन बढ्न नसकेकाले परनिर्भरता बढ्दैछ । केन्द्रका धान विज्ञ डा. सुशील सुवेदीका अनुसार नेपालको धानमा उत्पादकत्व बढ्दै गए पनि बढ्दो जनसंख्यालाई भात नै खुवाउन भने यो उत्पादन वृद्धिले थेग्न सक्ने अवस्था देखिंदैन ।
एक अध्ययनअनुसार नेपालको विगत ५४ वर्षमा धान उत्पादन वृद्धि र जनसंख्या वृद्धि हेर्दा धान वृद्धि १.५ प्रतिशत छ भने जनसंख्या वृद्धि २.३ प्रतिशत छ । धान अपुग हुँदै जाने पहिलो आधार यही भएको उनले बताए । सुवेदीकाअनुसार नेपालमा प्रतिव्यक्ति चामल खपत वार्षिक १३७ केजीसम्म छ । विवरणहरुअनुसार नेपाल दक्षिण एशियामा तेस्रो धेरै भात खाने मुलुकमा पर्छ । दक्षिण एशियामा सबैभन्दा धेरै भात बंगलादेशमा खाइन्छ । बंगलादेश विश्वमा प्रतिवर्ष धेरै चामल खपत गर्ने मुलुकको सूचीमा पहिलो नम्बरमा पर्छ । लाओस र बंगलादेश विश्वमा सबै भन्दा धेरै प्रतिवर्ष प्रतिव्यक्ति चामल खपत गर्ने मुलुकमा पर्छन् । दुवै मुलुकमा प्रतिवर्ष प्रतिव्यक्ति चामलको खपत २६६ किलो छ । यस्तै श्रीलंकको पनि प्रतिवर्ष प्रतिव्यक्ति चामलको खपत १६४ किलो छ ।
उनकाअनुसार नेपाललाई धानमा आत्मनिर्भर हुन करिब ७९ लाख ३७ हजार मेट्रिक टन चाहिने देखिन्छ । जसमध्ये चामलको रूपमा ६८ लाख ९० हजार मेट्रिक टन धान आवश्यक रहेको छ । यस्तै १० लाख ४७ हजार टन धान अन्य प्रयोजन जस्तै पेय पदार्थ, पशु आहारा र बिउको रूपमा प्रयोग भइरहेको छ । नेपालमा वार्षिक करिब ४२० लाख लिटर रक्सी बनाइने गरेको तथ्याङ्क छ जसमा २० प्रतिशत रक्सी चामलबाट बन्ने अनुमान छ ।
यस तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा वार्षिक रूपमा उत्पादन हुने करिब ५५ लाख मेट्रिक टन धानमध्ये करिब २४ लाख मेट्रिक टन अपुग देखिन्छ । जुन भनेको करिब १२ देखि १४ लाख मेट्रिक टन चामल अपुग हुनु हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको चालु आवको तथ्याङ्कअनुसार गत वर्षभन्दा यो वर्ष धानको उत्पादन साढे तीन लाख मेट्रिक टनले बढेको छ । चालु आवमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ । जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो ।
आव २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षभन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको छ । यो वर्ष धान उत्पादन हुने २० हजार हेक्टर क्षेत्रफलमा घटेको छ । गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा १४ लाख ६९ हजार ५४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७५/०७६ मा १४ लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो ।
आव २०७६–७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, जसबाट ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, आव २०७७/०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।